काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ निर्वाचन क्षेत्रको खोजीमा भौँतारिने गरेको टिप्पणी गरेका छन्। उनले यो टिप्पणी रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै गरेका हुन्।
झापाको गौरीगञ्जमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काठमाडौँबाट जितिसकेको व्यक्तिले फेरि त्यहीँबाट चुनाव लड्ने आँट नगरेको भन्दै प्रश्न गरे। “आफ्नै क्षेत्रमा जनविश्वास गुमेपछि नयाँ ठाउँ खोज्नुपर्ने बाध्यता आउँछ,” उनले भने।
गौरीगञ्जसँग आफ्नो सम्बन्ध वि.सं. २०२६ सालदेखि नै रहेको स्मरण गर्दै ओलीले २०२६ देखि २०२९ सालसम्म सोही क्षेत्रमा संगठन निर्माणमा सक्रिय रूपमा खटिएको बताए। २०३० सालमा जेल परेपछि केही समय आउन नसके पनि २०४७ सालको अन्त्यदेखि पुनः गौरीगञ्जसँग निरन्तर सम्बन्ध रहँदै आएको उनले बताए।
अध्यक्ष ओलीले गौरीगञ्जमा आएको विकास परिवर्तनको चर्चा गर्दै विगतको गौरीगञ्ज र अहिले ‘सेल्फी रोड’ सहितको गौरीगञ्जबीच आकाश–जमिनको फरक रहेको उल्लेख गरे। विकास पूर्वाधारका सन्दर्भमा उनले हुलाकी राजमार्ग आफ्नै पहलका कारण सफल भएको दाबी गरे। उनका अनुसार कन्काईको एउटा पुलबाहेक अधिकांश काम सम्पन्न भइसकेका छन् भने रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा छन्।
सामाजिक सुरक्षाको क्षेत्रमा पनि आफ्नो नेतृत्वको सरकारले उल्लेखनीय योगदान दिएको दाबी गर्दै उनले ज्येष्ठ नागरिक भत्ता ४ हजार रुपैयाँ पुर्याइएको बताए। तर वर्तमान आर्थिक अवस्था र पटक–पटक सरकार परिवर्तनका कारण भत्ता थप बढाउन नसकिएकोप्रति उनले दुःख व्यक्त गरे।
कार्यक्रममा बोल्दै ओलीले सडक बालबालिका र भिखमङ्गाको समस्या अन्त्यका लागि अभियान चलाइएको तथा पछाडि परेका समुदायलाई अगाडि बढाउन विभिन्न प्रयास गरिएको बताए। उनले भने, “आफ्नै जिल्लाबाट किन कोही चुनाव लड्न सक्दैन भन्ने कुरा बुझ्नुपर्छ। जहाँ जनविश्वास छैन, त्यहाँ ढाँट्न सकिँदैन। काठमाडौँमा जितेको मान्छेले त्यहीँबाट फेरि लड्ने आँट किन गर्दैन ?”
उनले पछिल्लो समय मधेसी–पहाडी विभाजनका कुरा उठ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता प्रयासहरू नगर्न आग्रह गरे। सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष ओलीले समाजमा सद्भाव बिथोल्ने प्रयासहरूप्रति सचेत रहन आग्रह गर्दै मधेशी र पहाडीबीचको भेदभाव अन्त्य गरी समानता र न्यायमा आधारित समाज निर्माण आवश्यक रहेको बताए।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया