काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पक्षहरूले फागुन २१ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्।
पूर्वराजा झापाबाट काठमाडौं आउने कार्यक्रमअनुसार राप्रपा र अन्य समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा आह्वान गर्दै भनेका छन्, “राजा सबका साझा हुन्। राजालाई स्वागत गर्न राप्रपा हुनु पर्दैन, राजसंस्थावादी पनि हुनु पर्दैन। जुनसुकै पार्टी, विचारमा आबद्ध वा स्वतन्त्र रहनुभएका देशलाई माया गर्ने सबै देशभक्तहरू फागुन १ गते त्रिभुवन विमानस्थल पुगौं।”
हालसम्म राप्रपाले औपचारिक विज्ञप्ति वा सूचना जारी गरेर पूर्वराजालाई स्वागत गर्न आह्वान भने गरेको छैन। प्रवक्ता श्रेष्ठले सेतोपाटीसँग भने, “विमानस्थलमा पूर्वराजालाई स्वागत गर्ने र निर्मल निवाससम्म पुर्याउने कार्यक्रम मात्र हो, अरू कुनै कार्यक्रम छैन।”
राप्रपा महामन्त्री धवल शम्शेर राणाले पनि फेसबुकमा आह्वान गर्दै सबै राजभक्त र देशभक्त एक भएर विमानस्थल पुग्न आग्रह गरेका छन्। उनले ‘सरकारलाई तेस्रो पटक राज्यारोहण गराउन एकजुट हौं’ पनि लेखेका छन्।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले एक्स (पहिलेको ट्विटर) मा लेखेका छन्, “राजालाई फागुन १ गते काठमाडौं विमानस्थलमा भव्य स्वागत गरौं। देशलाई राजसंस्थाको छहारी आवश्यक रहेछ भन्नेमा पुराना दलहरू पनि लगभग सहमत हुन थालेका छन्। उपत्यका र देशभरिका राप्रपा तथा अन्य राजसंस्थावादी समूहका समर्थकहरू एकदिनका लागि उपस्थित भए, स्वागत ऐतिहासिक हुनेछ।”
साथै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि सामाजिक सञ्जालमा उपस्थित हुन आह्वान गर्दै भनेका छन्, “देश बचाउन, धर्म जोगाउन, विदेशमा रहेका विखण्डित नेपाली परिवारलाई एकताबद्ध गर्न सम्पूर्ण देशप्रेमी, राष्ट्रभक्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू फागुन १ गते दिनको ठीक ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा उपस्थित भइ कार्यक्रमलाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक बनाउन हार्दिक आह्वान गर्दछौं।”
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया