काठमाडाैं । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ भने तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ पर्ने व्यक्ति राजेन्द्र डडाल हुन्। उनलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
यसअघि उक्त घटनामा संलग्न भएको आरोपमा २० वर्षीया दिपीका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार पछिल्लोपटक पक्राउ परेका डडालले हत्यापछि शव व्यवस्थापनमा सहयोग गरेको आरोप छ। घटनामा संलग्न रहेको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिष पाल फरार छन्।
प्रहरीले जनाएको अनुसार पक्राउ परेकी दिपीका पाल आशिक पालकी कान्छी श्रीमती हुन्। प्रारम्भिक अनुसन्धानबाट बियर बारमा दिपीकालाई जिस्काएको विषयमा विवाद हुँदा आशिकले हबल्दार घर्तीमाथि कुटपिट गरेको र त्यसक्रममा उनको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया