काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली तथा सामाजिक संरचनामा गम्भीर असर पारिरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा यस्ता अपराधका कारण वार्षिक करिब ३.६ बिलियन अमेरिकी डलर बराबरको राजस्व नोक्सानी हुने गरेको उल्लेख गरे। उनका अनुसार वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विशेषगरी विकासोन्मुख मुलुकहरूको आर्थिक संरचनामा दीर्घकालीन नकारात्मक प्रभाव पारिरहेको छ।
गभर्नर पौडेलले वित्तीय अपराधको आर्थिक प्रभावभन्दा यसको मानवीय मूल्य अझ भयावह रहेको बताए। यसले सामाजिक–आर्थिक खाडल गहिरो बनाउनुका साथै युवा तथा बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको उनको भनाइ छ। सिर्जनशीलता र नवप्रवर्तनमा लाग्नुपर्ने युवा पुस्ता अपराधको माध्यम बन्नु सबैभन्दा खतरनाक परिणाम भएको उनले औँल्याए।
सीमानाविहीन वित्तीय अपराधले कानुनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गर्ने गरेको उल्लेख गर्दै उनले यसलाई रोक्न प्रतिक्रियात्मकभन्दा निरोधात्मक सुपरीवेक्षण आवश्यक रहेको बताए। साथै, वित्तीय समावेशीकरणमा असर नपर्ने गरी जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए।
गभर्नर पौडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारी क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षापंक्तिका रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले आजको जोखिम मात्र टार्ने होइन, भोलिको अनिश्चितता सामना गर्न सक्ने सुदृढ प्रणाली निर्माण गर्नुपर्नेमा समेत जोड दिए।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया