काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले हालै रामेछापमा भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल प्रभावकारी कदम चाल्न नेपाल सरकारसँग माग गरेको छ। महासङ्घले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो।
मंगलबार काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र. ००१–०५ ख ९९७५ नम्बरको अरनिको बस रामेछापको मन्थली नगरपालिका–६, बेनीघाट पुल नजिक बिहान १०ः४० बजे तामाकोशी नदीमा खसेको थियो। दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रेस विज्ञप्तिमार्फत महासङ्घले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, सिट क्षमताभन्दा बढी यात्रु नबोक्न व्यवसायीहरूलाई आग्रह गरेको छ।
महासङ्घले देशभर सञ्चालित आफ्ना सदस्य सङ्घ/समिति/कम्पनी/प्रालिहरूलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, टिकट काट्दा अनिवार्य रूपमा यात्रुको नाम र सम्पर्क नम्बर उल्लेख गरी पहिचान खुल्ने व्यवस्था गर्न तथा दैनिक रेकर्ड अद्यावधिक गर्न निर्देशन दिएको छ।
विशेषगरी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अवसरमा हिमाली, तराई तथा पहाडी ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा सिट क्षमताभित्र मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न पनि महासङ्घले आग्रह गरेको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले सडकको अवस्था र यात्रु चापको प्रभावकारी नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुर्घटनाका बेला तत्काल हेलिकप्टरमार्फत उद्धार व्यवस्था मिलाउन समेत माग गरिएको छ।
विज्ञप्तिमा विगतमा नेपाल सरकारद्वारा गठित सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत अन्य छानबिन प्रतिवेदनहरू कार्यान्वयन नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ। महासङ्घले ती प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग अनुरोध गरेको छ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया