काठमाडौं । रामेछापमा यात्रुवाहक बस दुर्घटनामा मृतकका परिवारले क्षतिपूर्ति माग गर्दै बुधबार दिनभर सडक बन्द गरेका छन्।

साँझपख उनीहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेट घेराउ गरी नाराबाजी गरेपछि स्थिति तनावपूर्ण बनेको छ।

advertisement

प्रदर्शन नियन्त्रण गर्न प्रहरीले तीन राउन्ड हवाइ फायर र केही सेल अश्रुग्यास प्रयोग गरेको छ।

प्रशासन कार्यालय अगाडि प्रदर्शन भइरहँदा भित्र सर्वदलीय बैठक जारी रहे पनि पीडितको माग सम्बोधन हुन सकेको छैन।

पीडित पक्षले अरनिको यातायात सेवा समितिका पदाधिकारी वार्तामा आउनुपर्ने, प्रतिमृतक २५ लाख राहत, रोजगारीको व्यवस्था, बालबालिकाको शिक्षाको जिम्मेवारी, घाइतेको उपचार तथा बेपत्ताको खोजी गर्नुपर्ने माग राखेका छन्।

तर समितिका पदाधिकारी बुधबार साँझसम्म पनि रामेछाप आएका छैनन्। जिल्लामा रहेका काउन्टर प्रमुख शुवाष फुँयालले कानुन अनुसार प्रति मृतक ५ लाख क्षतिपूर्ति र ३० हजार क्रियाखर्च दिने व्यवस्था रहेको बताए। तर मृतकका परिवारले यो प्रस्ताव अस्वीकार गरेका छन्।

यसैबीच, पीडित पक्षका आफन्तले दुर्घटनामा परी तीन जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्।

प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–६ का २४ वर्षीय विशाल सुनुवार, लिखु तामाकोशी गाउँपालिका–७ की ८ वर्षीया रेमिसा तामाङ र मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ अझैसम्म फेला परेका छैनन्।

खोजी कार्य जारी रहेको भए पनि बुधबार साँझसम्म उनीहरू भेटिएका छैनन्।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com