सुर्खेत। कर्णाली प्रदेशका विभिन्न जिल्लामा जंगली बँदेलको आक्रमण बढ्दै गएपछि प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरिएको छ।

बँदेल आक्रमणबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति तथा घाइतेलाई उपचार खर्च उपलब्ध गराउन र नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न मागसहित अधिवक्ताहरू उपेन्द्रकुमार रावत, नमराज योगी, लोकप्रसाद गौतम र नमनकुमार शाहीले रिट दायर गरेका हुन्।

advertisement

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय दैलेखसहित संघ, प्रदेश र स्थानीय तहका गरी २५ निकायलाई विपक्षी बनाइएको छ।

निवेदनमा दैलेखका दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिका, आठबीस नगरपालिका र महाबु गाउँपालिकालगायत क्षेत्रमा झण्डै एक दशकदेखि जंगली बँदेलले बालीनाली नष्ट गर्दै आएको उल्लेख छ। पछिल्लो समय भने मानिसमाथि सिधा आक्रमणका घटना बढेको दाबी गरिएको छ।

माघ १२ गते भैरवी गाउँपालिका–६ कुर्माकोटमा ७७ वर्षीय प्रदीप सिंहको बँदेल आक्रमणबाट मृत्यु भएको थियो। सोही घटनामा दीपक सिजाली र मिकेश सिजाली घाइते भएका थिए। त्यस्तै, माघ २४ गते भैरवी–५ का ५० वर्षीय पदमबहादुर विष्टको आफ्नै बारीमा काम गरिरहेकै बेला आक्रमणबाट ज्यान गएको थियो। आठबीस नगरपालिका–८ का दीपेन्द्र वडुवाल गम्भीर घाइते भई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

निवेदकहरूले जंगली बँदेलको अस्वाभाविक वृद्धि र मानव–वन्यजन्तु द्वन्द्वलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार ‘गैरप्राकृतिक विपद्’को अवस्थाका रूपमा व्याख्या गरेका छन्। प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गरी राहत, उद्धार र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

रिटमा तीनै तहका सरकारले कानुनी दायित्वअनुसार पूर्वतयारी, जोखिम न्यूनीकरण, राहत तथा पुनःस्थापना कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोपसमेत लगाइएको छ। साथै, स्थानीय तहमार्फत किसानहरूको बालीनालीमा भएको क्षतिको लगत संकलन गरी उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र समस्याको अल्पकालीन तथा दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न अदालतको आदेश माग गरिएको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com