काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका मतपत्र छपाइ पूर्ण भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले आजसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको जानकारी दिएका छन्।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक गरी ५८ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।
बुधबारसम्म ५३ जिल्लाका मतपत्र छपाइ सकिएको थियो भने आज थप पाँच जिल्लाका मतपत्र छपाइ पूर्ण भएको आयोगले जनाएको छ। यी मतपत्र प्याकिङ्ग पनि भइसकेको छ। अहिलेसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ्ग भइसकेको छ। आयोगका अनुसार, हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ्ग र १३–१५ लाख मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा मतपत्र छपाइ भइरहेको छ। यहाँ समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु भएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ पुस २६ देखि सुरु गरी माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको थियो। यी मतपत्र प्याकिङ्ग र रुजु गरेर ढुवानीको तयारीमा राखिएको आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ। माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छपाइ सुरु भएको थियो।
आजबाट आयोगले छपाइ भएका मतपत्र कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ। सहायक प्रवक्ता न्यौपानेका अनुसार, सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको छ।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया