मुम्बई। आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा नेपाल इटालीविरुद्ध १२३ रनमै समेटिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेर इटालीले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाल स्पिन आक्रमणका कारण दबाबमा पर्दै १९.३ ओभरमै अलआउट भएको हो।

नेपालले इटालीसामु १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

advertisement

सुरुआत कमजोर

नेपालको सुरुआत अपेक्षाअनुसार हुन सकेन। पहिलो ओभरमा वाइडबाट मात्रै रन आएको थियो। दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल अली हसनको बलमा जस्टिन मोस्काबाट कभरमा क्याच आउट भए। उनले त्यसअघि पाँचौं बलमा चौका प्रहार गरे पनि कुल ८ रनको स्थितिमा नेपालले पहिलो विकेट गुमायो।

त्यसपछि कप्तान रोहित पौडेलले केही आक्रामक ब्याटिङ गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। रोहितले १४ बलमा २ चौकासहित २३ रन जोड्दै पावरप्लेमा नेपाललाई ६ ओभरमा १ विकेटको क्षतिमा ४६ रनसम्म पुर्‍याए। तर सातौं ओभरको अन्तिम बलमा उनी लङअनमा क्याच आउट भए।

लगत्तै अर्को ओभरमा आसिफ शेख पनि स्टम्प आउट भए। उनले २० बलमा २० रन जोड्दा दुई चौका प्रहार गरेका थिए। रोहित आउट हुँदा ४९ रन रहेको नेपालले त्यसपछि केही समय रन जोड्न सकेन। १० ओभरमा नेपाल ३ विकेटको क्षतिमा ६७ रनमा पुगेको थियो।

मध्यक्रममा साझेदारी

त्यसपछि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै इनिङ्सलाई अघि बढाए। दीपेन्द्रले १८ बलमा १७ रन बनाएर १४औं ओभरमा कलुगामागेबाट बोल्ड भए। उनले कुनै चौका–छक्का प्रहार गर्न सकेनन्।

अघिल्लो खेलमा राम्रो प्रदर्शन गरेका लोकेश बम यसपटक ३ रनमै आउट भए। उनलाई बेन मानेन्टीले बाउन्ड्रीमा क्याच गराए। १५ ओभर सकिँदा नेपाल ५ विकेट गुमाएर ९७ रनमा पुगेको थियो।

अन्तिम चरणमा विकेटको वर्षा

१६औं ओभरमा आरिफ शेख २४ बलमा ३ चौकासहित २७ रन बनाएर आउट भए। त्यसपछि विकेट पतनको क्रम तीव्र बन्यो। गुल्सन झा ३ रनमा क्याच आउट भए भने नन्दन यादव रनआउट हुँदै शून्यमा फर्किए। पाँच बलको अन्तरालमा नेपालले तीन विकेट गुमायो।

अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए। तेस्रो बलमा ललित राजवंशी शून्यमै आउट भए।

करण केसीले भने ११ बलमा १ चौका र १ छक्काको मद्दतमा अविजित १८ रन जोड्दै नेपाललाई १२३ रनसम्म पुर्‍याए।

इटालीका स्पिनर घातक

इटालीका स्पिनर बेन मानेन्टी निकै किफायती सावित भए। उनले ४ ओभरमा मात्र ९ रन खर्चिए र कुनै चौका–छक्का दिएनन्। उनका १८ बल डट थिए।

देब्रेहाते स्पिनर कलुगामागेले पनि ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। उनले पनि नेपालका ब्याटरहरूलाई खुला रूपमा खेल्न दिएनन्।

समूहको अवस्था

नेपालले यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार बेहोरेको थियो। इटाली पनि आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो। दुवै टोलीका लागि आजको खेल जित्नु महत्त्वपूर्ण छ।

नेपालले अब आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com