काठमाडाैं ।  जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका आठ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ।

गत भदौ २४ गते रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

advertisement

संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरिएको छ। कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका राई फरार भएका थिए।

चौविसे गाउँपालिका–३ का ३४ वर्षीय सिजन तामाङलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। अङ्गभङ्ग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका उनी पनि फरार सूचीमा थिए।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि गाउँपालिका–७ का संगम माझी र साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई समेत पक्राउ गरिएको छ।

यसैगरी, कर्तव्य ज्यान तथा चोरी मुद्दामा २० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका चौविसे गाउँपालिका–२ धारापानीका ४६ वर्षीय रमेश पाङ्मी मगर र कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरीको धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com