एजेन्सी । जापानले चिनियाँ जहाज जफत गरेको छ । नागासाकी प्रिफेक्चर नजिकको आफ्नो विशेष आर्थिक क्षेत्र (सेज) भित्रबाट भाग्न खोजेको एक चिनियाँ माछा मार्ने जहाज नियन्त्रणमा लिएको जापानी अधिकारीहरूले बताएका छन् । जापानले निरीक्षणका लागि रोक्न दिइएको आदेश नमान्दै भागेका कारण सो जहाजलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
जापानको मत्स्य एजेन्सीका अनुसार जहाजका ४७ वर्षीय चिनियाँ क्याप्टेनलाई पक्राउ गरिएको छ । सो जहाजमा ११ जना सवार थिए । कब्जा भएको जहाज ठुलो क्षमताको टाइगर नेट माछा मार्ने डुङ्गा भएको जनाइएको छ ।
सन् २०२२ पछि जापानले चिनियाँ माछा मार्ने जहाज नियन्त्रणमा लिएको यो पहिलो पटक हो । जापानका मन्त्रिपरिषद्का मुख्य सचिव मिनोरु किहाराले विदेशी जहाजद्वारा हुने अवैध माछा मार्ने गतिविधि रोक्न कडा कदम जारी रहने बताएका छन् ।
यस घटनाले टोकियो र बेइजिङबिच पहिले नै चर्किएको कूटनीतिक तनाव थप बढाउने अनुमान गरिएको छ । जापानी प्रधानमन्त्री सनाए ताकाइचीले गत नोभेम्बरमा चीनले ताइवानमाथि बल प्रयोग गरे जापानले सैन्य हस्तक्षेप गर्न सक्ने सङ्केत दिएपछि चीनले कडा आपत्ति जनाएको थियो ।
त्यसपछि दुई देशबिच सम्बन्ध चिसिँदै गएको छ, जसका कारण जापानमा आउने चिनियाँ पर्यटकहरूको सङ्ख्या घट्नुका साथै सांस्कृतिक आदान प्रदानमा समेत असर परेको छ ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया