एजेन्सी । बंगलादेशको संसदीय निर्वाचनमा विद्यार्थी आन्दोलनबाट उदाएको नेसनल सिटिजन्स पार्टी (एनसिपी) ले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको छ। अनलाइन दैनिक ‘द डेली स्टार’का अनुसार मतगणना जारी रहेका क्षेत्रमा एनसिपीले हालसम्म केवल ६ सिटमा मात्र जित सुनिश्चित गरेको छ।

पार्टीका प्रमुख नेता नाहिद इस्लाम ढाका–११ क्षेत्रमा अग्रस्थानमा रहे पनि अन्य अधिकांश क्षेत्रमा पार्टीको प्रदर्शन कमजोर देखिएको छ। मतदानअघि नाहिद इस्लामले एनसिपी नेतृत्वको गठबन्धनले सरकार गठन गर्ने दाबी गरेका थिए, तर प्रारम्भिक नतिजाले त्यो सम्भावना टरेको संकेत दिएको छ।

advertisement

सन् २०२४ को जुलाईमा भएको विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देश छाड्न बाध्य बनाएको थियो। उक्त आन्दोलनका क्रममा सरकारी दमन हुँदा करिब १,४०० आन्दोलनकारीको ज्यान गएको थियो। त्यसपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई बेलायतबाट फर्काएर अन्तरिम सरकार गठन गरिएको थियो, जसमा आन्दोलनका केही नेतृत्वकर्ता पनि सहभागी भएका थिए।

पछिल्लो चरणमा नाहिद इस्लामसहितका नेताहरूले एनसिपी स्थापना गरी निर्वाचनमा होमिए पनि जनमत आफ्नो पक्षमा तान्न सफल भएनन्।

यता, बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको गठबन्धनले स्पष्ट बहुमतसहित सरकार गठन गर्ने लगभग निश्चित भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गठबन्धन दुई तिहाइ बहुमततर्फ अग्रसर रहेको छ।

यससँगै १७ वर्षपछि स्वदेश फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्। सन् २००७ मा तत्कालीन सरकारले पक्राउ गरेपछि २००८ मा उपचारका लागि बेलायत गएका रहमान त्यसयता त्यहीँ बस्दै आएका थिए। गत पुस महिनातिर मात्रै उनी स्वदेश फर्किएका हुन्।

एनसिपीसँगै जमात–ए–इस्लामी पनि प्रतिपक्षमा बस्ने देखिएको छ। ‘ढाका ट्रिब्युन’का अनुसार उक्त दलले बढीमा ६० सिटसम्म जित्न सक्ने अनुमान गरिएको छ।

३०० सदस्यीय बंगलादेशी प्रतिनिधिसभामा सरकार गठन गर्न १५१ सिट आवश्यक पर्छ। अहिलेको मतपरिणामले सत्ता समीकरणमा स्पष्ट परिवर्तनको संकेत दिएको छ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com