एजेन्सी । बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले प्रतिनिधिसभा निर्वाचनको मतगणनामा व्यापक अनियमितता भएको आरोप लगाएको छ। विद्यार्थी आन्दोलनको बलमा उदाएको उक्त दलले मतपरिणाम आफ्नो विपक्षमा गएपछि निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको हो।

तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गराउने विद्यार्थी आन्दोलनपछि गठन भएको एनसिपीले निर्वाचनअघि उल्लेख्य समर्थन पाउने दाबी गरे पनि प्रारम्भिक परिणामअनुसार पार्टी ६ सिटमा मात्र सीमित हुने संकेत देखिएको छ। शुक्रबार बिहान बंगलादेशी सञ्चारमाध्यमहरूले एनसिपीको प्रदर्शन अपेक्षाभन्दा निकै कमजोर रहेको समाचार सार्वजनिक गरेका थिए।

advertisement

द डेली स्टारका अनुसार पार्टीका प्रवक्ता आशिफ महमुदले गएराति पत्रकार सम्मेलन गरी मतगणनामा गडबडी भएको दाबी गरेका हुन्। उनले अन्तिम परिणाम सार्वजनिक गर्नुअघि विवादित निर्वाचन क्षेत्रहरूको पुनःसमीक्षा गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।

एनसिपीले जमात–ए–इस्लामीसहित ११ दलसँग मिलेर चुनावी गठबन्धन बनाएको थियो। पत्रकार सम्मेलनमा आशिफ महमुदले ११–दलीय गठबन्धनका शीर्ष उम्मेदवारहरूलाई लक्षित गरी मतपरिणाम हेरफेर गरिएको स्पष्ट प्रमाण आफूहरूसँग रहेको दाबी गरे। उनका अनुसार केही क्षेत्रमा सञ्चारमाध्यमले सार्वजनिक गरेका तथ्यांक, मतदान केन्द्रको मतगणना विवरण र निर्वाचन अधिकृतले घोषणा गरेका नतिजाबीच स्पष्ट अन्तर देखिएको छ।

उनले विशेषगरी ढाका–१३, ढाका–१५, ढाका–१७, ढाका–१९ र ढाका–११ मा अनियमितता भएको आरोप लगाए। ‘कतिपय स्थानमा पूर्ण मतगणना सम्पन्न नहुँदै विजेता घोषणा गरिएको छ भने केही मतदान केन्द्रको नतिजा पछि परिवर्तन गरिएको पाइएको छ,’ उनले भने।

यस्तै, कुरीग्राम–१ र कुरीग्राम–२ मा गठबन्धनका उम्मेदवारको अनौपचारिक विजय घोषणा भएपछि दबाब र तनाव सिर्जना गरिएको पनि उनले दाबी गरे। ढाका–८ मा भने तोकिएको चुनाव चिह्नभन्दा बाहिर छाप लगाइएका मतपत्रसमेत गणनामा समावेश गरिएको आरोप उनले लगाए।

एनसिपीले विवादित क्षेत्रहरूको मतगणना पुनःजाँच गर्न, आवश्यक परे पुनःप्रमाणीकरण गर्न र निष्पक्ष ढंगले अन्तिम परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगसँग औपचारिक माग गरेको छ। यद्यपि, यस विषयमा निर्वाचन आयोगले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिएको द डेली स्टारले उल्लेख गरेको छ।

यसबीच, बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को जित सुनिश्चित भइसकेको छ। पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित मानिएको छ। उनी पूर्वराष्ट्रपति जियाउर रहमान तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com