काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताए।

“यसवर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरण ताजा भएर आएका छन्,” उनले भने, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।”

advertisement

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे । “यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,” उनले भावुक हुँदै भने, “म यहाँ आउँदा अलिकति भावुक र उल्लेखित भएको छु । जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौँ ।”

संयोजक प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै देश कठिन मोडबाट अगाडि बढेको धारणा राखे ।

“यस्तो सङ्कटको घडीमा इतिहासका ती प्रेरणाबाट शिक्षा लिँदै फेरि राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ,” उनले भने, “समाजवादको नयाँ यात्रा सुरु गर्ने सङ्कल्पका रूपमा मैले यो अवसरलाई लिएको छु ।”

उनले जनयुद्धकालीन सङ्कल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताए ।

  • रासस

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com