काठमाडाैं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले नयाँ नेतृत्व र नयाँ पार्टी खोज्नेहरूका लागि कांग्रेस नै विकल्प भएको बताएका छन्।
सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा उनले भने, “यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो। कांग्रेस विरासत बोकेर नयाँ नीति र नेतृत्वसहित अघि बढिरहेको छ।”
थापाले अबको देश युवाहरूको काँधमा रहेको उल्लेख गर्दै धनकौलमा ठूलो संख्यामा उपस्थित विशेषगरी ‘जेनजी’ पुस्ता देखेर आफू उत्साहित भएको बताए। युवाहरूको विचार र क्षमताको कदर गर्दै उनले देश हाँक्ने जिम्मेवारी युवाकै हातमा रहेको धारणा व्यक्त गरे।
उनले मधेस क्षेत्रमा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य समस्या रहेको भन्दै शिक्षा नै विकासको आधार भएको बताए। कांग्रेसलाई जिताउन युवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्दै “एक जनाले पाँच जनालाई बुझाउने” अभियानमा लाग्न आग्रह गरे।
थापाले कांग्रेससँग देश चलाउने उत्साह र अनुभव दुवै रहेको दाबी गर्दै देशको नेतृत्व गर्ने अवसर दिन मतदातासँग आग्रह गरे। उनले प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत योजना तयार रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्ने अधिकार जनतामा रहेको बताए।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया