काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछिको विषमपूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका छन्।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले यो अधिवेशन समयका हिसाबले निकै छोटो तर कामका हिसाबले महत्त्वपूर्ण र भविष्यमा पनि गर्व गर्न लायक रहेको बताए।

advertisement

राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक गत माघ ४ गते बसेको थियो । जम्मा २७ दिन चालु रहेको यो अधिवेशनमा नौवटा बैठक बसी १७ घण्टा २५ मिनेट समयसभाका काममा व्यतित गरेको अध्यक्ष दाहालले बताए।

यो अधिवेशनमा सात वटा बैठकका शून्य समयमा २९ जना सदस्यले ४८ मिनेट र तीन वटा बैठकका विशेष समयमा १५ जना सदस्यले तीन घण्टा ३९ मिनेट समय उपयोग गरेको उनले बताए। यो अधिवेशनमा एउटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो ।

अध्यक्ष दाहालका अनुसार यो अवधिवेशनमा ‘अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने पर्यटन विधेयक २०८१, चलचित्र विधेयक २०८१ र राष्ट्रिय विधिविज्ञान प्रयोगशाला स्थापना, सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधिसभामा पठाइएको छ । यसबिचमा सरकारले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएको छ ।

त्यस्तै, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२, प्रतिनिधिसभा सदश्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ र नेपाल विशेष सभा ऐन दोस्रो संशोधन अध्यादेश सभामा पेस भई सर्वसम्मत स्वीकृत भइसकेको छ ।

सरकारलाई संसद्प्रति जवाफदेही बनाउन कानुन, न्याय तथा संसदीय मामिला, सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको उनले जानकारी दिए।

यसबिचमा गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने र राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले लिखित राजिनामा गरेकाे तथा सुदूरपश्चिमबाट निर्वाचित बलदेव बोहराको निधन भएको जानकारी पनि अध्यक्ष दाहालले बताए।

समयका हिसाबले छोटो समय चले पनि ऐतिहासिक रूपमा काम गर्न सकेको बताए। राजनीतिक अन्योलताका बीच महत्वपूर्ण काम गर्न सकिएको उनले उल्लेख गरे।

  • रासस

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com