काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले परिवर्तन र समृद्ध नेपालको निर्माण यात्रा अझै जारी रहेको बताएका छन्। जनयुद्ध दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले अन्याय, असमानता र विभेदविरुद्ध उठेको चेतनाको स्मरणस्वरूप यो दिवस महत्वपूर्ण रहेको उल्लेख गरेका हुन्।
भट्टराईले जनआन्दोलन र जनयुद्धका ऐतिहासिक संघर्षले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढाएको बताए। उनले जनयुद्ध दिवसका अवसरमा सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धाहरू र परिवर्तनका लागि संघर्षरत सबैप्रति सम्मान व्यक्त गरेका छन्।
तत्कालीन नेकपा माओवादी का शीर्ष नेतामध्येका एक भट्टराई जनयुद्धको सुरुआतमा अग्रपंक्तिमा रहेका थिए। उक्त पार्टीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्ध आरम्भ गरेको थियो।
हाल उनी प्रगतिशील लोकतान्त्रिक पार्टी का संरक्षकका रूपमा सक्रिय छन्।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया