काठमाडौं । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान करिब २:१० बजे विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो।
घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कार चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए।
कार चालकले नियन्त्रण गुमाउँदा कार तालमा खसेको खबर पाएपछि, उपरीक्षक सिंहको कमाण्डमा कालिका गणबाट २१ जनाको प्रहरी टोली खोताखोरसहित उद्धारका लागि खटिएको थियो।
खोताखोर टोलीले चालकलाई अचेत अवस्थामा तालबाट निकालेर थप उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको थियो, जहाँ अस्पतालले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
प्रहरीले क्रेनको सहायतामा दुर्घटनामा परेको सवारी साधन घटनास्थलबाट बाहिर निकालेर थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बैदाममा पठाएको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया