वीरगञ्ज। वीरगञ्जको आदर्शनगर क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएको संयुक्त सुरक्षाकर्मी टोलीमाथि भौतिक आक्रमण गरेको अभियोगमा चार जना नेपाली र दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीहरूमाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।

advertisement

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं. १० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह, भारत विहार मोतिहारी रक्सौलका ४० वर्षीय प्रभु महतो र भागलपुर पोडियाका ३५ वर्षीय पृतम कुमार चौधरी रहेका छन्।

गत माघ २६ गते बिहान आदर्शनगरस्थित एक गोदाममा भण्डारण गरिएको अवैध सामान नियन्त्रणमा लिन गएको सशस्त्र प्रहरी बल, वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधि तथा सुरक्षाकर्मीको संयुक्त टोलीमाथि आक्रमण भएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मुख्य अभियुक्तका रूपमा चिनिएका वीरगञ्ज घडिअर्वा निवासी मदन गुप्ता फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com