रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ऐतिहासिक चुनबाङ बैठक स्थल भेरीडाँडा पुगेका छन्। प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्ड मतदाता भेटघाटका क्रममा उक्त स्थल पुगेका हुन्।

वि.सं. २०६२ असोजमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समिति बैठक चुनबाङमा बसेको थियो। सो बैठकले ‘लोकतान्त्रिक गणतन्त्र’को प्रस्ताव पारित गर्दै संसदवादी राजनीतिक दलहरूसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा सीमित गर्ने निर्णय पनि त्यही बैठकले गरेको थियो।

advertisement

स्थल अवलोकनका क्रममा प्रचण्डले आफू र पत्नी सीता दाहाल बसेको कोठा, छोरा प्रकाश दाहाल तथा अन्य नेताहरू बसेको घर र कोठा हेरे। पत्नी र छोराको सम्झनामा उनी भावुक देखिए। “नेपाली क्रान्तिमा उहाँहरूको योगदान सधैं स्मरणीय छ,” उनले संक्षिप्त प्रतिक्रिया दिए।

मतदाता भेटघाटका क्रममा उनले चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तिपूर्ण राजनीतितर्फ डोर्‍याएको जिकिर गरे। “यही बैठकबाट १२ बुँदे समझदारी र शान्ति सम्झौताबारे निष्कर्षमा पुगेका थियौँ। हामीले यही हलमा बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनायौँ, अर्कोतिर सात दलसँग शान्ति वार्ता गर्ने निर्णय पनि गर्‍यौँ,” उनले भने।

प्रचण्डले रुकुमलाई ‘क्रान्तिको जननी र शान्तिको आधारभूमि’ का रूपमा चित्रण गर्दै जिल्लाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको उल्लेख गरे।

तीन दिनदेखि रुकुम पूर्वमा रहेका प्रचण्डले शनिबार चुनबाङको गैरीगाउँ र पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com