कैलाली। नेकपा (एमाले) का उपमहासचिव तथा कैलाली–४ का उम्मेदवार लेखराज भट्टले जनताको बीचमा जाँदा सबैको समर्थन पाउनेमा विश्वस्त रहेको बताएका छन्। तर, जनताको गुनासो समय समयमा भेटघाट नभएको रहेकाले त्यस्तो शंका रहेको उनले खुलासा गरे।
शनिबार विहान नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा भट्टले भने, “म योपटक जनताले जिताउने कुरामा विश्वस्त छु।”
भट्टले भदौ २३–२४ का घटनाको यथार्थ छिट्टै सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। उनले आयोगको म्याद पटक–पटक थपिएकोप्रति प्रश्न उठाउँदै भने,
“यो आयोगलाई सुरुमा म्याण्डेट के थियो भने एक महिनाभित्रै छानबिन गरेर निष्पक्ष प्रतिवेदन ल्याउनुपर्थ्यो। तर, आयोगले पहिले नै झुक्याउने प्रयास गरेको थियो र अहिले पनि शंका कायम छ।”
यसैबीच भट्टले रास्वपाको बारेमा टिप्पणी गर्दै भने कि, “नयाँ भनेर आएका केही गर्दैनन्। नयाँ भनिएकाहरुको विचार र दर्शन केही पनि छैन।”
उनी आफ्नो क्षेत्रको विकासमा सधैं योगदान दिँदै आएको उल्लेख गर्दै अब पनि शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको विकासमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया