पाल्पा। पाल्पा जिल्लामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरी का अनुसार शनिबार दिउँसो करिब साढे दुई बजेतिर तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्ग मा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बुटवल बाट पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक गुल्मी पूर्तिघाट–४ का ३१ वर्षीय मिलन सार्कीको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार अन्दाजी ३१ वर्षीया महिलाको पनि ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया