काठमाडाैं । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान १७ फेब्रुअरीमा देशका नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्। उनको शपथग्रहण समारोहमा भारत लगायत १३ देशका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।
परम्परागत रूपमा राष्ट्रपति भवनमा हुने शपथग्रहण यसपटक ढाकास्थित राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिने भएको छ। ढाकाले निमन्त्रणा पठाएको देशहरूमा चीन, भारत, मलेसिया, साउदी अरेबिया, टर्की, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, नेपाल, माल्दिभ्स र भुटान रहेका छन्।
भारतीय सञ्चारमाध्यमले जनाएको छ कि भारतले अहिलेसम्म औपचारिक जवाफ दिएको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरी १७ मा मुम्बईमाफ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम भएकाले उनी ढाकामा उपस्थित नहुने सम्भावना रहेको छ। यस्तो अवस्थामा भारतको प्रतिनिधित्व विदेशमन्त्री एस. जयशंकर वा उपराष्ट्रपति सी.पी. राधाकृष्णजस्ता नेताले गर्न सक्ने अनुमान गरिएको छ।
मिडिया रिपोर्ट अनुसार भारत बंगलादेशसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन चाहन्छ र शपथग्रहण बहिष्कार गर्ने छैन। तर तत्कालै कुनै सम्झौता गर्न हतारमा नरहेको जनाइएको छ। पाकिस्तानका प्रधानमन्त्रीलाई पनि यस समारोहमा आमन्त्रित गरिएको छ।
आम निर्वाचनमा ठूलो जित हासिल गरेपछि तारिक रहमान ले सञ्चारमाध्यमसँग कुरा गर्दै सार्कलाई पुनः सक्रिय बनाउन पहल गर्ने बताएका छन्। साथै उनले देशमा कानून–व्यवस्था कायम रहने स्पष्ट गर्दै शान्ति र सुरक्षामा खलल पुर्याउने कुनै पनि गतिविधि सहन नहुने र कानून सबैका लागि समान रूपमा लागू हुने बताए।
रहमानले देशवासीलाई एकजुट रहन र देशको हितका लागि सबैले मिलेर काम गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया