एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गरे निको हुने सम्भावना उच्च रहेको जनाएको छ।
डब्लुएचओका अनुसार, बाल्यकालमा देखिने क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाएर उपचार गरेमा ८० प्रतिशतभन्दा बढी बालबालिका पूर्ण रूपमा निको हुन सक्छन्। बालबालिकामा प्रायः रगतको क्यान्सर (ल्युकेमिया), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्युरोब्लास्टोमा, विल्म्स ट्युमर जस्ता क्यान्सर देखिन्छन्। यस्ता रोगको समयमै पहिचान र उपचारले बालबालिकाको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने डब्लुएचओले जनाएको छ।
संस्थाले बालबालिकामा हुने क्यान्सरका उपचार सरकारी अस्पतालमा उपलब्ध रहेको र सेवा विस्तारका लागि आवश्यक व्यवस्था भइरहेको जानकारी दिएको छ। स्वास्थ्य विज्ञहरूले बालबालिकामा असामान्य लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गरेका छन्। समयमै निदान र उपचारले मृत्यु दर घटाउन र बालबालिकाको जीवन सुरक्षित बनाउन मद्दत पुग्ने डब्लुएचओको भनाइ छ।
डब्लुएचओले बालबालिकामा हुने क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्न र समयमै उपचारमा पहुँच सुनिश्चित गर्न सबै सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया