काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। अब करिब ११ लाख ९९ हजार मतपत्र छाप्न बाँकी रहेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। बाँकी १० जिल्लाका मतपत्र पनि छपाइ भइसकेका छन्, तर प्याकिङ प्रक्रिया जारी छ।

advertisement

हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। अब काठमाडौँ उपत्यका वरपरका जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको र दुई दिनभित्र सम्पूर्ण काम सम्पन्न गरिने बताइएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि सुरु भएको हो। समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको छ, जसअन्तर्गत माघ १६ गतेदेखि छपाइ सुरु गरिएको हो।

छपाइ सम्पन्न भएका मतपत्रहरू शुक्रबारदेखि जिल्लातर्फ पठाउन सुरु गरिएको छ। पहिलो चरणमा कर्णाली प्रदेशका जिल्लामा मतपत्र पठाइएको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा पनि ढुवानी भइसकेको छ। सहरी तथा सुगम जिल्लामा भने मतपत्र पठाउने क्रम जारी रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com