काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई “डिजिटल हब” बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै सूचना प्रविधि क्षेत्रमा साना सुधारले पनि ठूला नतिजा ल्याउन सक्ने विश्वास व्यक्त गरे।

थापाले स्पष्ट पारे कि केही समयअघि कीर्तिपुरको सभामा उनले ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ’ भनी बताएका अभिव्यक्ति हावादारी नभई योजनाबद्ध सोचको हिस्सा हो। उनले अघिल्लो सरकारले अध्यादेशमार्फत गरेको साना सुधारले सकारात्मक नतिजा देखाएको उदाहरण दिँदै अब थप व्यवस्थित र नीतिगत सुधार आवश्यक रहेको औँल्याए।

advertisement

उनको योजनाअनुसार सन् २०२४–२०३४ को अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य राखिएको छ। पाँच वर्षभित्रै करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने उनको दाबी छ। यस योजनाले २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने, र ३–५ कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राखेको छ।

यसका लागि थापाले स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्यालेन्ट हब’ निर्माण, र सार्वजनिक–निजी साझेदारीको मोडेल अघि सार्ने प्रस्ताव गरेका छन्। उनले नेपालले फ्रिल्यान्सिङ र बीपीओमा मात्रै सीमित नहुने, आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। साथै सरकारले स्वदेशी प्रविधि र उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्ने पनि उनले बताए।


 

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com