काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई पाँच वर्षभित्र डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्यसहित सूचना प्रविधि (आईटी) केन्द्रित चार प्रमुख योजना सार्वजनिक गरेका छन्। सोमबार जारी गरिएको भिडिओ सन्देशमार्फत उनले स्पष्ट कार्ययोजना र कानुनी सुधारमार्फत उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने दाबी गरे।

सभापति थापाले केही समयअघि कीर्तिपुरमा दिएको अभिव्यक्ति स्मरण गर्दै ‘डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको तीन–चार लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने भनाइ हावादारी नभएको पुनः स्पष्ट पारे। “त्यो कुनै उडन्ते सपना थिएन, मसँग स्पष्ट योजना थियो, उनले भने।

advertisement

थापाका अनुसार सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’का रूपमा अघि सारिएको छ। उक्त अवधिमा ३० खर्ब रुपैयाँ बराबरको आईटी निर्यात, पाँच लाख प्रत्यक्ष रोजगारी र ठूलो संख्यामा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार अब स्पष्ट योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु मुख्य चुनौती हो।

उनले सुधारहरू गम्भीरतापूर्वक लागू गर्न सके पाँच वर्षमै करिब चार खर्ब रुपैयाँ बराबरको आईटी तथा डिजिटल सेवा निर्यात सम्भव हुने बताए। यसबाट दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै २०० भन्दा बढी नेपाली आईटी कम्पनी विदेशमा विस्तार हुन सक्ने र कम्तीमा तीनदेखि पाँच कम्पनी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने उनको भनाइ छ।

लगानीसम्बन्धी करिब ६० वर्ष पुरानो कानुनले विदेशमा लगानी गर्न पूर्ण प्रतिबन्ध लगाएको उल्लेख गर्दै थापाले आईटी क्षेत्रका लागि उक्त व्यवस्था खुला गर्न पहल गरिएको बताए। विदेशी लगानीमा रहेको दुई करोड रुपैयाँको सीमा हटाएर स्वचालित प्रणालीमार्फत स्वीकृति दिने व्यवस्था गरिएपछि एक वर्षभित्र लगानी प्राप्त गर्ने कम्पनीको संख्या १६ बाट बढेर करिब ३८४ पुगेको उनले जानकारी दिए।

 

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com