रामेछाप। रामेछापमा भएको बस दुर्घटनाको एक सातापछि सुनकोशी नदी किनारामा एक बालकको शव फेला परेको छ।
सोमबार बिहान करिब साढे ७ बजे गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
मृतक मन्थली नगरपालिका–६ का ९ वर्षीय कृचन तामाङ रहेको पुष्टि भएको छ। उनी माघ २७ गते बेनिघाट पुल नजिकै भएको प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा बेपत्ता भएका थिए। बालकको पहिचान उनका ठूलोबुबा युवराज तामाङले गरेका हुन्।
शव फेला परेसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यससँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। यसअघि दुर्घटनाकै दिन १२ जनाको शव फेला परेको थियो। दुर्घटनापछि तामाकोशी नदीमा खसेको बस प्रहरी र सशस्त्र प्रहरीले निकालेका थिए।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया