विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र लिङ्देनले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन्।
अभियानको सुरुवात गर्दै उनले वर्तमान परिस्थितिमा विकासभन्दा पनि राष्ट्रको अस्तित्व र स्वाधीनता जोगाउनु प्रमुख विषय बनेको दाबी गरे। ‘बाटो बन्यो कि बनेन, पुल बने कि बनेन भन्नेभन्दा आज देश सुरक्षित रहन्छ कि रहँदैन भन्ने चिन्ता ठूलो भएको छ,’ उनले भने, ‘यस्तो संवेदनशील घडीमा राप्रपा देशभक्तिको पक्षमा दृढतापूर्वक उभिएको छ, र यसको नेतृत्व तपाईंहरूकै आँगनको छोराले गरिरहेको छ।’
लिङ्देनले विगत आठ वर्षको अवधिमा क्षेत्रमा भएका कामहरूको मूल्यांकन गर्न मतदातालाई आग्रह गर्दै विकासका प्रयासमा आफू संलग्न रहेको बताए। सडक निर्माण, विद्यालय स्थापना तथा खानेपानी आयोजनाजस्ता पूर्वाधार विकासमा आफ्नो पहल रहेको उनको दाबी थियो।
देश जोगाउने अभियानमा आफूलाई समर्थन गर्न सबै दलका मतदातासँग अपिल गर्दै उनले भने, ‘देश रह्यो भने विकास र अन्य समस्या समाधान गर्न सकिन्छ। त्यसैले यो चुनावमा पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुहोस्।’
आफ्नो बाल्यकालको स्मरण गर्दै उनले झापा–३ सँगको भावनात्मक सम्बन्ध उल्लेख गरे। ‘म यहाँ बाबुको औंला समातेर हिँडेको हुँ। यहीँको माटोमा हुर्किएको हुँ,” उनले भने, “यहाँका दाजुभाइ–दिदीबहिनीको सुखदुःखमा सधैं सहभागी हुँदै आएको छु।’
विद्यार्थी जीवनका संघर्षका प्रसंग पनि उल्लेख गर्दै उनले युवावस्थामा भएका सामान्य झडपहरू स्वीकार गरे तर राजनीतिक आडमा कसैलाई दुःख दिने मनसाय कहिल्यै नराखेको स्पष्ट पारे।
अन्त्यमा उनले मतदाता समक्ष पुनः एकपटक सहयोग, समर्थन र आशीर्वादको अपेक्षा राख्दै देशको हितलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरे।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया