काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि राखिएको हो।

advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ।

अभियोगपत्रअनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाइएको छ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते बसेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो। त्यस्तै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको अभियोगपत्रमा उल्लेख छ।

३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको दाबी गर्दै आयोगले कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलीको मागसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com