काठमाडौं। काठमाडौँको सानो भर्याङ क्षेत्रमा धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
फागुन ३ गते राति करिब ११ बजे नागार्जुन नगरपालिका–२ स्थित आर्मी मेडिकल कलेज नजिकै बागमती प्रदेश ०२–०२६ प ५३१० नम्बरको मोटरसाइकल लुटिएको थियो। पैदल आएका दुई व्यक्तिले मोटरसाइकल चालकलाई धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिँदै सवारी साधन लिएर फरार भएका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त स्वयम्भू बाट खटिएको टोलीले खोजतलास तीव्र पारेको थियो। खोजीका क्रममा लुटिएको मोटरसाइकलसहित दुवै जनालाई नागार्जुन–२ को तीनघरे क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रामेछाप घर भई ठुलो भर्याङ बस्ने १९ वर्षीय अनिस सोनाम र रसुवा धुन्चे घर भई सानो भर्याङ बस्ने १८ वर्षीय राजन तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ का प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार दुवै जनालाई डाँका चोरी मुद्दामा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया