काठमाडौँ । निर्वाचन आयोग (नेपाल)ले प्रविधिको दुरुपयोगबाट निर्वाचनको निष्पक्षतामाथि गम्भीर असर पर्न सक्ने भन्दै यसप्रति सजग रहन सबै सरोकारवालालाई आग्रह गरेको छ। आयोगले सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना फैलाउन नहुने र यस्तो गतिविधि रोक्न सञ्चारमाध्यम तथा सम्बन्धित पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) प्रयोग गरेर तयार गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा नप्रसारण गर्न र निर्वाचनको गरिमा कायम राख्न विशेष आग्रह गरे। उनले मतदानअघि मत सर्वेक्षणका आधारमा हार–जीतको अनुमान सार्वजनिक गर्ने कार्यले निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सञ्चारमाध्यमलाई यस्तो कार्य नगर्न सचेत गराएका छन्।

advertisement

उनका अनुसार हाल केही अभ्यासहरूमा मतदातासँगको कुराकानी वा सर्वेक्षणलाई आधार बनाएर मतदानअघि नै सम्भावित परिणाम सार्वजनिक गर्ने प्रवृत्ति देखिएको छ, जसले आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ। निर्वाचन आचारसंहिता, २०८२ अनुसार यस्ता गतिविधिले मतदाताको स्वतन्त्र निर्णयमा असर पार्न सक्छ र उम्मेदवारलाई हतोत्साहित गर्दै प्रतिस्पर्धाको वातावरण बिगार्न सक्छ।

आयोगले प्रविधिको तीव्र विकाससँगै एआईमार्फत तयार गरिएका भ्रामक सामग्रीको प्रसार रोक्न सबैलाई सहयोग गर्न पुनः आग्रह गरेको छ। प्रविधिले सूचना प्रवाहलाई सहज बनाएको भए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षता कमजोर पार्ने जोखिम रहेको आयोगको भनाइ छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबैको साझा जिम्मेवारी भएको आयोगले स्पष्ट पारेको छ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com