काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले चुनावी अभियानलाई तीव्रता दिएका छन्। नेकपा (एमाले)का उम्मेदवार पोखरेल यतिबेला घरदैलो कार्यक्रममार्फत टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्ना विकास योजना र प्राथमिकताबारे जानकारी गराउँदै आएका छन्। टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले सधैं देश निर्माणको पक्षमा उभिएको पार्टी भएको उल्लेख गरे। ‘एमाले देश बनाउने शक्ति हो, देश बिगार्ने होइन,’ उनले भने।
उनले आसन्न निर्वाचनलाई देशको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै राष्ट्रलाई सही दिशामा अघि बढाउन एमालेको जित आवश्यक रहेको दाबी गरे। साथै, पार्टीका कार्यकर्ता र समर्थकलाई जनताको घरदैलोमा पुगेर पार्टीका एजेन्डा स्पष्ट रूपमा राख्न आह्वान गरे।
पोखरेलले मतदाताका गुनासा, सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राख्ने बताए।
आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै उनले काठमाडौं–५ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिरहेका छन्। सोही प्रतिबद्धतासहित पोखरेल यतिबेला मतदाता भेटघाटमा व्यस्त देखिन्छन्।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया