काठमाडौं। सडकमै पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मंगलबार पक्राउ परेका ४२ वर्षीय पारस बमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वीकृति दिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उनलाई मंगलबार दिउँसो भोटाहिटीबाट नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बमलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा न्यायिक हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार घटना गत शनिबारको हो। महाराजगञ्जस्थित चप्पल कारखाना नजिकै बमले कारबाट झरेर एक बृद्ध व्यक्तिमाथि मुक्का प्रहार गरेका थिए। प्रारम्भिक बयानमा ती व्यक्तिले अपशब्द प्रयोग गरेकाले आफूले मुक्का हानेको बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया