एजेन्सी।  भारतको केरलाकी १० महिनाकी एक बालिकाले अंग दानमार्फत पाँच जनाको ज्यान बचाएकी छन्।

डाक्टरहरूले उनलाई मस्तिष्क मृत्यु भएको घोषणा गरेपछि उनका बुबा अरुण अब्राहमले अंग दान गर्ने निर्णय गरेका थिए।

advertisement

आलिन शेरिन अब्राहम नामकी ती बालिका केरलाकी सबैभन्दा कान्छी अंगदाता बनेकी छन्। कार दुर्घटनामा गम्भीर घाइते भएकी आलिनलाई उपचारका क्रममा बचाउन नसकिएपछि उनका आमाबाबुले अंग दानको सहमति दिएका हुन्।

उनको कलेजो र एउटा मिर्गौला दुई गम्भीर बिरामी बालबालिकामा प्रत्यारोपण गरिएको छ। अर्को मिर्गौला, मुटुको भल्भ र आँखा आवश्यकताअनुसार विभिन्न अस्पतालमार्फत बिरामीहरूमा प्रत्यारोपण गरिने जनाइएको छ।

३३ वर्षीय अरुण अब्राहमले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार यो निर्णय निकै पीडादायी भए पनि मानवताको खातिर लिइएको हो। उनले आफ्नी श्रीमती शेरिन एन. जोनसँग सल्लाह गरेर अंग दान गर्ने निर्णय गरेका थिए। कलेज पढ्दाको समयमा अंग दानबारे पाएको शिक्षाले आफूलाई प्रेरित गरेको उनले बताएका छन्।

तिरुवनन्तपुरमस्थित श्री चित्र तिरुनल आयुर्विज्ञान तथा प्रविधि संस्थानका न्यूरोसर्जरी प्राध्यापक डा. ईश्वर एच.भी.का अनुसार मृतक दाताबाट हुने अंग दानले समाजमा सकारात्मक सन्देश दिएको छ। उनका अनुसार बालबालिकामा मस्तिष्क मृत्यु पुष्टि गर्न वयस्कभन्दा बढी समय लाग्छ।

दुर्घटना फेब्रुअरी ५ मा कोट्टायम–तिरुवल्ला सडकखण्डमा भएको थियो। आलिन आफ्नी आमा र हजुरबा–हजुरआमासँग यात्रा गरिरहेकी थिइन्। अन्य यात्रु सामान्य घाइते भए पनि आलिन गम्भीर घाइते भएकी थिइन्। उनलाई विभिन्न अस्पतालमा उपचारपछि कोच्चीस्थित अमृता आयुर्विज्ञान संस्थानमा लगिएको थियो।

फेब्रुअरी ६ मा मस्तिष्क मृत्यु घोषणा भएपछि सोही दिन उनका आमाबाबुले अंग दानको सहमति दिएका थिए।

कलेजो प्रत्यारोपणबाट लाभान्वित हुनेमध्ये एक छ महिनाकी ध्रिया हुन्। शल्यक्रिया सफल भएको र उनको अवस्था स्थिर रहेको जनाइएको छ। अर्को मिर्गौला १० वर्षीय बालकमा प्रत्यारोपण गरिएको छ।

समाजका विभिन्न तहबाट श्रद्धाञ्जली व्यक्त भएपछि केरल सरकारले आलिनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। उनको अन्त्येष्टि आफ्नै गृहनगर पठानमथिट्टामा सम्पन्न भएको जनाइएको छ।

परिवारको साहसिक निर्णयलाई मानवताको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com