काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दीपक बोहराले पार्टी सभापति रवि लामिछानेको समर्थनमा चलाइएको हस्ताक्षर अभियानले एक करोडभन्दा बढी समर्थन जुटाउन सक्ने दाबी गरेका छन्।
सभापति लामिछानेमाथि दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दालाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै रास्वपाले ‘राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान’ सञ्चालन गरेको थियो। सो अभियानको नेतृत्व आफूले गरेको उल्लेख गर्दै बोहराले धनगढीमा आयोजित चुनावी सभामा ४० लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरिसकेको बताए।
उनका अनुसार अभियानलाई निरन्तरता दिन र डिजिटल माध्यमबाट विस्तार गर्न पाएको भए हस्ताक्षर संख्या सहजै एक करोड नाघ्ने थियो। “हस्ताक्षर अभियान जारी नै थियो। डिजिटल क्याम्पेन र घरदैलो कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन पाएको भए संख्या अझै बढ्थ्यो,” उनले भने।
बोहराले पूर्वन्यायाधीश, सुरक्षाकर्मी, बुद्धिजीवीसहित विभिन्न क्षेत्रका व्यक्तिहरूले अभियानमा समर्थन जनाएको दाबी गरे। आफूहरूले जनताको घरघरमा पुगेर आगामी निर्वाचनसम्म सशक्त समर्थन देखाउने तयारी गरे पनि जनताले अपेक्षाभन्दा अघि नै साथ दिएको उनको भनाइ थियो।
दीपक बोहरा कञ्चनपुर–२ बाट रास्वपाका उम्मेदवार हुन्।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया