जनकपुरधाम । विश्वप्रकाश शर्माले देश र मधेश दुवै जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा परिस्थिति सम्हाल्न सक्षम शक्तिलाई जिताउनुपर्ने आवश्यकता औँल्याएका छन्।

बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति शर्माले अहिलेको निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभएको स्पष्ट पारे। उनका अनुसार यो चुनाव व्यवस्थाको स्थायित्व र सामाजिक सद्भावसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

advertisement

‘हामी सबैलाई थाहा छ—देश पीडामा छ, मधेश पनि पीडामा छ,’ उनले भने, ‘यस क्षणको मूल प्रश्न कसले जित्छ भन्ने होइन, कसले देशलाई सम्हाल्न सक्छ भन्ने हो।’

शर्माले कांग्रेसका लागि जित–हार असाधारण विषय नभएको उल्लेख गर्दै पार्टीले विगतमा अनेकौँ चुनाव जितेको र हारेको स्मरण गरे। ‘जित वा हार हाम्रो लागि नयाँ कुरा होइन,’ उनले भने, ‘तर आजको प्रश्न पद्धति जोगाउने कि गुमाउने भन्ने हो। समाजमा सद्भाव र स्थायित्व कसले कायम राख्न सक्छ भन्ने हो।’

मधेशको योगदानप्रति सम्मान व्यक्त गर्दै उनले मधेशलाई देशको अन्नको मुख्य आधारका रूपमा चित्रण गरे। ‘नेपालका नागरिकको थालमा पुग्ने धेरै अन्न मधेशकै माटोबाट उत्पादन हुन्छ,’ उनले भने, ‘मधेशका किसान र उनीहरूको प्रत्येक दानाप्रति हामी कृतज्ञ छौँ।’

शर्माले राष्ट्र र मधेशको हितका लागि जिम्मेवार र अनुभवी नेतृत्व आवश्यक रहेकोमा जोड दिए।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com