काठमाडाैं । सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्लाको ईश्वरपुर नगरपालिका–१३ स्थित बाके–संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

advertisement

दुर्घटनामा घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको थियो। तीमध्ये दुई जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा रिफर गरिएको थियो।

गम्भीर घाइतेमध्ये हरिपुर्वा नगरपालिका–९ निवासी सिंगेश्वर रायका छोरा अन्दाजी ३० वर्षीय मुकेश रायलाई मलंगवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै, सोही स्थानका रामछबिल्ला रायका छोरा अन्दाजी ३५ वर्षीय रामज्ञान रायलाई पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा हरिपुर्वा–९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय राम विश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूको मोडेल अस्पतालमा उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा रहेका छन्। चालकको पहिचान तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com