काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका क्रममा रुकुम पूर्व र म्याग्दीमा फरक दृश्य देखिएको छ। उम्मेदवारलाई मतदाताले नै ‘चुनाव खर्च’ भन्दै आर्थिक सहयोग प्रदान गरेका छन्।
पुष्पकमल दाहाल रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। उनको सचिवालयका अनुसार सिस्ने गाउँपालिका–८ धपेका शहीद परिवारले संयुक्त रूपमा १ लाख ५०५ रुपैयाँ निर्वाचन परिचालनका लागि सहयोग गरेका छन्। उक्त रकम सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाएका हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनमार्फत हस्तान्तरण गरिएको जनाइएको छ।
सिस्ने–८ बाट द्वन्द्वकालमा २० जना मारिएका थिए, जसलाई दाहाल नेतृत्वको सरकारले शहीद घोषणा गरेको थियो। शहीद परिवारबाट प्राप्त रकम दाहालले निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गरेका छन्। उनले शहीद परिवारको सहयोगलाई सांकेतिक भए पनि भावनात्मक र शक्तिशाली समर्थनका रूपमा व्याख्या गरेका छन्।
यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले पनि घरदैलोका क्रममा मतदाताबाट चुनाव खर्च भन्दै नगद सहयोग प्राप्त भइरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले गाउँ–गाउँमा भोट माग्न जाँदा मतदाताले स्वेच्छाले आर्थिक सहयोग प्रदान गरिरहेको उल्लेख गरेका छन्।
पुनले प्राप्त रकमलाई एकीकृत गरी निर्वाचन सम्पन्न भएपछि पूर्ण विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। ‘उम्मेदवारले पैसा बाँडेर भोट माग्ने चलन सुनिन्छ, तर मलाई त मतदाताले नै पैसा दिइरहेका छन्,’ उनले लेखेका छन्, ‘संकलित चन्दाको सम्पूर्ण हिसाब पारदर्शी रूपमा सार्वजनिक गरिनेछ।’
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया