काठमाडौं । विभिन्न कम्युनिस्ट धारका दलहरू आबद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। बिहीबार बसेको समितिको बैठकले आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो।
बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध नेताहरू सहभागी थिए।
निर्णयअनुसार फागुन ८ देखि १२ गतेसम्म गाउँ–टोल र वडा तहसम्म पुगेर निर्वाचन बहिष्कारका पक्षमा पर्चा वितरण, घरदैलो अभियान र कोणसभा सञ्चालन गरिनेछ। त्यसैगरी फागुन १३ देखि १८ गतेसम्म स्थानीय अनुकूलता हेरी इटहरी, जनकपुर, चितवन, काठमाडौं, बुटवल, दाङ, बर्दिया र धनगढी लगायतका सहरहरूमा बहिष्कार सभा आयोजना गरिने जनाइएको छ।
बैठकले सुशीला कार्की नेतृत्वको सरकारले धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूको अविलम्ब रिहाइको माग पनि गरेको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया