काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन कुमार थापाले २०४६ सालपछि २०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन्।
पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा थापाले त्यस अवधिमा गरिएको आर्थिक सुधारकै जगमा हालसम्म मुलुकको आर्थिक विकास टिकेको दाबी गरे। उनले समयानुकूल परिवर्तन गर्दै समृद्धिको यात्रालाई अघि बढाउनुपर्ने बताए।
विसं २०४६ पछि २०५१ सम्म कांग्रेसले चलाएको सरकारकै बेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो,’ उनले भने, ‘त्यसैका कारण लामो समयसम्म कम्युनिष्ट पार्टीबाट निरन्तर आलोचना र राजनीतिक दबाब खेप्नुपर्यो। सार्वजनिक नीतिका विषयमा नागरिकलाई पर्याप्त रूपमा बुझाउन नसक्नु हाम्रो कमजोरी रह्यो। तर आज नेपालमा देखिएका धेरै योजना २०५९ सालतिर सुरु गरिएका पहलको जगमा आधारित छन्।’
थापाले पार्टी स्थापनाकालमै नेताहरूले दीर्घकालीन दृष्टिकोण राखेको उल्लेख गर्दै जननायक बीपी कोइरालाले प्रत्येक नेपाली मध्यमवर्गीय स्तरको हुनुपर्छ भन्ने सपना देखेको स्मरण गरे। उनले विगतका उपलब्धिप्रति गौरव गर्दै ऐतिहासिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए।
वि सं २०३३ को कठिन समयमा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै उनले पञ्चायती व्यवस्थाका ३० वर्षमा नेतृत्वले सत्तालोभ नगरेको दाबी गरे।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया