काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका प्रमाणहरू प्रस्तुत गरेका छन्।

काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा बोल्दै सभापति थापाले लामिछानेको संलग्नता पुष्टि गर्ने दाबीसहित अदालती कागजात र चेकहरूको विवरण सार्वजनिक गरेका हुन्।

advertisement

‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु,’ थापाले भने, ‘यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन्।’

सभापति थापाले चितवन र रुपन्देहीका अदालतमा रहेका मिसिलहरूलाई उद्धृत गर्दै लामिछानेको नाममा करोडौं रुपैयाँ ऋण प्रवाह भएको बताए।

उनका अनुसार लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारीबाट आएको रकम खर्चेको र आफ्नै हस्ताक्षरबाट चेकहरू भुक्तानी गरेको देखिएको छ।

‘चितवनको अदालतको रेकर्ड अनुसार रवि लामिछानेको नाममा ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ र उहाँ आफैँले हस्ताक्षर गरेका ४१४ वटा चेकहरू फेला परेका छन्,’ थापाले दाबी गरे।

यस्तै, बुटवलको सुप्रिम सहकारीबाट पनि बिना धितो २ करोड रुपैयाँ लामिछानेको व्यक्तिगत नाममा ऋण प्रवाह भएको उनको भनाइ थियो।

थापाले सर्वोच्च अदालतको वेबसाइटमा रहेको फैसलाको बुँदा उल्लेख गर्दै लामिछाने प्रबन्ध निर्देशक हुनुअघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई बैंक खाता खोल्ने निर्णयमा संलग्न रहेको बताए।

‘उहाँले निःशुल्क सेयर पाएको दाबी गरे पनि उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिन्छ,’ थापाले भने, ‘कम्पनीबाट अलग भएको भनिएको मिति पछि पनि सयौँ चेकमा उहाँको हस्ताक्षर निरन्तर रहेको भेटिएको छ।’

थापाले यी सबै तथ्यहरू सार्वजनिक दस्ताबेजका रूपमा उपलब्ध रहेको र जोसुकैले सर्वोच्च अदालतको वेबसाइटमा गएर हेर्न सक्ने बताए।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com