काठमाडौं । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको प्रभावका कारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यका का एक–दुई स्थानमा बिहानीपख छिटपुट वर्षा भएको छ।
शुक्रबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। साथै मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
त्यस्तै, आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहनेछ।
महाशाखाले राति कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। साथै, हुस्सु, तुवाँलो र हिमपात हुने अनुमान गरिएका क्षेत्रमा बसोबास गर्ने नागरिक तथा ती क्षेत्रमा यातायात सञ्चालनलगायत दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया