एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रमसम्बन्धी स्पष्ट र ठोस सम्झौतामा आउन १० देखि १५ दिनको समयसीमा दिएका छन्। वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तोकिएको अवधिभित्र सहमति नभए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले निर्धारित समय पर्याप्त भएको उल्लेख गर्दै त्यसपछि परिस्थिति कठोर हुन सक्ने संकेत गरेका छन्।
विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्वीट्जरल्याण्डको जेनेभामा वार्ता भएको थियो। इरानले वार्तालाई सकारात्मक भने पनि अमेरिकाले कुनै ठोस उपलब्धि नभएको जनाएको छ। इरानले नयाँ प्रस्ताव तयार गर्न थप १५ दिनको समय मागेको छ। जेनेभा वार्ताअघि दुवै देशबीच ओमानको मस्कटमा पनि छलफल भएको थियो।
अमेरिकाले इरानले युरेनियम समृद्धीकरण पूर्ण रूपमा बन्द गर्नुपर्ने, लामो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्नुपर्ने तथा मध्यपूर्वका सशस्त्र समूहहरूलाई सहयोग नगर्नुपर्ने सर्त अघि सारेको छ। तर इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ। इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय सम्बन्धहरू आन्तरिक विषय भएको स्पष्ट पारेको छ।
वार्ताबाट निष्कर्ष ननिस्किएपछि अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेना उच्च सतर्कतामा राखिएको छ र सम्भावित कदमबारे अन्तिम निर्णय राष्ट्रपतिको निर्देशनमा निर्भर रहने बताइएको छ।
अमेरिकी विमानवाहक युद्धपोत अब्राहम लिंकन केही समयदेखि मध्यपूर्व क्षेत्रमा तैनाथ छ। त्यस्तै जेराल्ड आर फोर्ड नामक अर्को विमानवाहक युद्धपोत पनि सोही क्षेत्रमा पठाइएको छ। यी दुवै समूहसँग विनाशक, क्रुजर र पनडुब्बीहरू समेत परिचालनमा छन्।
यसका अतिरिक्त बेलायतस्थित अड्डाबाट इन्धन बोक्ने ट्यांकर विमानहरू र ५० भन्दा बढी अतिरिक्त लडाकु विमान मध्यपूर्वमा खटाइएको छ। प्याट्रियट र थाडजस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू पनि क्षेत्रमा सारिएको छ। बी–२ बमवर्षक विमानहरू उच्च तयारी अवस्थामा राखिएको जनाइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही कर्मचारीलाई अस्थायी रूपमा अन्यत्र सारिएको समाचार पनि सार्वजनिक भएको छ।
गत वर्ष अमेरिकाले इरानका तीन आणविक संरचनामाथि आक्रमण गरी ती नष्ट गरेको दाबी गरेको थियो। तर पछिल्ला भू–उपग्रह तस्बिरहरूले केही प्रमुख आणविक स्थलहरूमा सुरक्षात्मक संरचना थप सुदृढ बनाइएको देखाएको छ, जसले कार्यक्रम पूर्ण रूपमा रोकिएको छैन भन्ने संकेत गरेको बताइएको छ।
यसबीच इरानका सर्वोच्च नेताले अमेरिका आक्रमणमा उत्रिए कडा जवाफ दिने चेतावनी दिएका छन्। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाउन सक्ने जनाएको छ।
तनाव चुलिँदै जाँदा रूसले संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरेको जनाइएको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया