काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवासँग सम्बन्धित विषयमा राज्यले कहाँ चुक्यो भन्ने गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताएकी छन्। शुक्रबार पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहमा उनले यस्तो भनिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘आजको युगमा युवा नै राजनेता, प्रशासक, नीति-निर्माता र समाज रूपान्तरणका मुख्य अभियन्ता हुन्। त्यसैले उनीहरूको क्षमताको जग आजैबाट मजबुत बनाउन आवश्यक छ।’ उनले भदौ २३ र २४ मा जेनजी युवाहरूले उठाएका आवाजहरू पनि धेरै गहिरा र आधारभूत सवालसँग जोडिएको बताइन्।
उहाँले थपिन्, ‘हामी कहाँ र किन चुक्यौं भन्ने प्रश्नको जवाफ खोज्दै आत्ममूल्यांकन गर्नु जरूरी छ। भविष्यप्रति सकारात्मक सोच, काँधमा जिम्मेवारी र हृदयमा निष्ठा एवं इमान्दारी लिएर अघि बढ्न सके मात्र अपेक्षित परिवर्तन सम्भव छ।’
प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुन गइरहेको निर्वाचन अत्यन्त महत्वपूर्ण अवसर भएको भन्दै युवालाई सक्रिय, जिम्मेवार र सचेत सहभागिताका लागि आग्रह पनि गरिन्।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया