काठमाडौ । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत हालसम्म ४१ वटा राजनीतिक दलले आफ्नो घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन्। आयोगले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।
आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार आयोगले तोकेको समयसीमाभन्दा अगाडि घोषणापत्र बुझाउन आग्रह गरिएको भए पनि दलहरूबाट अझै घोषणापत्र बुझाउने क्रम जारी छ। उम्मेदवारहरूले भने जिल्ला निर्वाचन कार्यालयमार्फत विवरण बुझाउन सक्ने व्यवस्था भएकाले सबै विवरण आउन बाँकी रहेको उनले बताइन्।
उनले प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका सबै मतपत्र छपाई र प्याकिङ सम्पन्न भइसकेको र समानुपातिकतर्फका मतपत्र सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी गरिसकिएको जानकारी दिइन्। साथै आयोगका स्वयंसेवकहरूले नमूना मतपत्र प्रयोग गरी मतदातालाई मतदानसम्बन्धी शिक्षा प्रदान गरिरहेका छन्।
निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने प्रावधानअनुसार हालसम्म सात राजनीतिक दल र ८,८६७ उम्मेदवारले बैंक खाता खोलेको विवरण प्राप्त भएको छ। यस हप्ता सार्वजनिक बिदा धेरै परेकाले आगामी आइतबार र सोमबार बैंक खाता खोल्ने उम्मेदवारको संख्या उल्लेखनीय रूपमा बढ्ने आयोगको अनुमान छ।
आयोगले तयार पारेको कार्यतालिका अनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण तयारीका कामहरू निर्धारित योजनाअनुसार अगाडि बढिरहेको जनाएको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया