काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक जना भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।
यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्थामा भेटिएका थिए ।
उनको हत्या अभियोगमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “उक्त घटनाको थप अनुसन्धानका क्रममा निज मृतक सन्तोष गिरीलाई नीरजनाथसमेतको बाबा समूहसँग वादविवाद हुँदा चिम्टालगायतका वस्तुले प्रहार गरिएको भन्ने खुल्न आएको हुँदा पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ ।” मृतक सन्तोष गिरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया