काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यससँग सम्बन्धित समूहलाई लक्षित गर्दै ‘नयाँको नाममा समाजलाई गलत दिशातिर डोर्याउने’ प्रयास भइरहेको बताउँदै आलोचना गरेका छन्।
आज सामाजिक सञ्जालमा जारी गरेको भिडियो सन्देशमा उनले मतदाता समुदायलाई एक भोटले मुलुकको भविष्य निर्धारण गर्ने भएकाले भ्रममा नपर्न चेतावनी दिएका छन्। पोखरेलले भने, ‘आजका केही समूहहरू देशलाई विध्वंसको बाटोमा लैजान खोजिरहेका छन्, भू–राजनीतिक द्वन्द्वको खेल मैदान बनाउने प्रयासमा छन् र नयाँको नाममा समाजलाई गलत दिशामा डोर्याउन खोजिरहेका छन्। यस्तो अवस्थामा हामीले संविधान, लोकतन्त्र र जनताको अधिकारको रक्षा गर्दै निर्वाचनमा सहभागी हुनुपर्दछ।’
सन्देशमा महासचिव पोखरेलले दाङको विकास र समृद्धिका लागि आफ्नो विगतको योगदानसमेत स्मरण गराएका छन्। उनले भने, ‘अवसर पाउँदा मैले दाङको यातायात पूर्वाधार, पिउने पानीको व्यवस्थापन, अँध्यारा बस्तीमा उज्यालो पु¥याउने योजना र सुक्खाग्रस्त क्षेत्रहरूको हराभरा बनाउने जलाशय आयोजना जस्ता कामहरू अघि बढाएको छु। विशेषगरी दाङ (घोराही–तुलसीपुर) चारलेन सडक निर्माणजस्ता रणनीतिक योजना सफल बनाउने काममा योगदान पुर्याएको छु।’
पोखरेलले दाङको समृद्धि र नयाँ आयोजना कार्यान्वयनका लागि योग्य र सक्षम जनप्रतिनिधि खोज्न मतदातालाई आह्वान गर्दै आफूलाई विश्वास गर्ने आग्रह पनि गरेका छन्।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया