काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै चुनाव हुन नदिन केही समूह सक्रिय रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै उनले इतिहासमा जनआन्दोलनबाट पराजित शक्तिहरू अहिले निर्वाचन अवरुद्ध गर्ने प्रयासमा लागेको आरोप लगाए। यस्ता प्रचारप्रसारको पछि नलागी दृढतापूर्वक निर्वाचन तयारीमा जुट्न उनले कार्यकर्तालाई आग्रह गरे।
“अझै पनि केही मानिसहरू निर्वाचन हुँदैन भन्ने कुरा दोहोर्याइरहेका छन्,” उनले भने, “जनक्रान्तिले अस्वीकार गरिसकेका तत्वहरू फेरि सक्रिय हुन खोजिरहेका छन्। यस्ता भ्रमको पछि नलागी चुनावी तयारीमा दृढतापूर्वक लाग्न म अपिल गर्छु।”
प्रचण्डले अहिले देशमा तीन प्रकारका राजनीतिक प्रवृत्ति आमनेसामने भएको दाबी गरे। शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने प्रवृत्ति, राज्यका संरचना र देशलाई अस्थिर बनाउने प्रवृत्ति तथा त्यसको प्रतिवाद गर्दै उभिएको शक्ति—यी तीन धारबीच प्रतिस्पर्धा चलिरहेको उनको भनाइ थियो। उनले हिंसात्मक र विध्वंसकारी प्रवृत्तिलाई जनताले अस्वीकार गर्ने दाबी गरे।
संयोजक प्रचण्डले आगामी १२ दिन पार्टी पंक्ति युद्धस्तरमा खटिए नेकपा देशको पहिलो शक्ति बन्न सक्ने दाबी गरे। नयाँ राजनीतिक दलतर्फ संकेत गर्दै उनले क्षणिक हावाहुरी स्थायी नहुने उल्लेख गरे। जनतामाझ अभियान तीव्र रूपमा अघि बढिरहेको दाबी गर्दै उनले देशलाई एकीकृत गर्न सक्ने शक्ति नेकपा भएको जिकिर गरे।
दोलखा क्षेत्रका उम्मेदवारको जित व्यक्तिगत सफलता मात्र नभई देशव्यापी रूपमा गौरवको विषय बन्ने उनको धारणा थियो।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया