काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेशकी संस्थापक पुर्वसभापति ममता शर्माले पार्टी सभापति रवि लामिछाने पुनः जेल जाने अवस्था सिर्जना हुन सक्ने दाबी गर्दै उनलाई दिइने मत खेर जाने बताएकी छन्।
रास्वपा त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्माले ‘संवाद डबली’मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चितवन क्षेत्र नम्बर–२ का मतदातालाई सचेत निर्णय गर्न आग्रह गरिन्।
उनले भनिन्, ‘दुई–दुई पटक ५० हजारभन्दा बढी मत दिएर तपाईंहरूले रवि लामिछानेजीलाई जिताउनुभयो। तर विवादमा मुछिएका व्यक्तिलाई पटक–पटक मत दिँदा जनताको मत खेर गइरहेको छ। यसपटक सोच–विचार गरेर सक्षम र स्थिर उम्मेदवार रोज्नुस्।’
शर्माले लामिछानेसँग सम्बन्धित कानुनी विवाद अझै टुंगोमा नपुगेको उल्लेख गर्दै पुनः जेल जाने जोखिम कायम रहेको जिकिर गरिन्।
रास्वपाको ‘प्राइमेरी इलेक्शन’ प्रक्रियामाथि पनि उनले प्रश्न उठाइन्। पार्टीले पारदर्शिता र आन्तरिक लोकतन्त्रको नारा दिए पनि व्यवहारमा त्यो लागू नभएको उनको आरोप थियो। ‘स्वच्छ र वैचारिक राजनीति गर्ने अपेक्षाले म रास्वपामा लागेको थिएँ,’ उनले भनिन्, ‘तर पार्टीको नीति–नियम र प्राइमेरी इलेक्शन केवल प्रचारमुखी नाटकजस्तै रहेछ। यो सिद्धान्तमा अडिएको पार्टी होइन भन्ने निष्कर्षमा पुगेँ।’
नेपाली कांग्रेसका सभापति गगन थापामाथि लाग्ने आरोपबारे सञ्चारकर्मीको जिज्ञासामा उनले ती आरोपहरू चर्चामै सीमित रहेको र थापा स्थापित राजनीतिक ब्रान्ड भइसकेको टिप्पणी गरिन्।
आफू कांग्रेस प्रवेश गरेपछि विभिन्न प्रतिक्रिया आएको उल्लेख गर्दै शर्माले भनिन्, ‘म एक मधेसी छोरी हुँ। आफ्नै पार्टीभित्रका कमजोरीविरुद्ध बोल्न सक्ने हिम्मत राख्छु भने नयाँ पार्टीमा पनि सुधार र सुदृढीकरणका लागि मेरो आवाज झनै बुलन्द हुनेछ।’
शर्मा गत बुधबार जनकपुरमा आयोजित कार्यक्रममा औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन्।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया